जनकपुरधाम, ७ चैत । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्द शाहले पदबाट राजीनामा दिएका छन् ।

शाहले गत फागुन १० गते राजीनामा दिएपनि उनको राजीनामा आज स्वीकृत भएको हो ।

१३ महिनाको जागिर अवधि अझै बाँकी रहेको अवस्थमा शाहले चुनाव लड्नका लागि पदबाट राजीनामा दिएका हुन् । शाहले आफुले जागिर छाडेको स्वीकार गरेका छन् ।

शाहले २०४९ साल चैत महिनामा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् । वैशाख १८ मा उनका इन्सपेक्टर ब्याचीमध्ये एकले नेपाल प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

शाहले नायब महानिरिक्षक (डीआईजी) मा बढुवा हुने सम्भावना नदेखिएकाले बेलैमा राजीनामा दिएको बताए । आसन्न स्थानीय चुनावमा धनुषाको विदेह नगरपालिकामा उनले पालिका प्रमुखमा उठ्ने तयारी गरिरहेका छन् ।

शाहले चुनावको तयारीमा लागिरहेको बताए । उनले आफू नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने तयारी गरिरहेको जानकारी दिए ।

शाह २०७७ पुसमा एसएसपीमा बढुवा भएका थिए ।