जनकपुरधाम, ७ चैत । नेपालका लागि बेलायती राजदुत निकोला पोलिटले जनकपुरधामस्थित नारी विकास केन्द्रमा मिथिला चित्रकलाको अवलोकन गरेकी छन् ।

अवलोकनको क्रममा राजदुत पोलिटले आफू मिथिला चित्रकलाको प्रचारप्रसारमा लाग्ने बताइन् । उनले महिलाहरु सामुहिकरुपमा एकत्रित भई मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापनप्रति गम्भिर रहेको उनले बताइन् ।

उनले मिथिला चित्रकलाका लागि आफुले पनि विभिन्न क्षेत्रमा लविङ्ग गर्नुका साथै यहाँ कार्यरत महिलाहरुको लागि आयआर्जन प्रति सचेत रहेको बताइन् ।

राजदुत पोलिटले मिथिला चित्रकलाको बजारीकरण र अन्तर्राष्ट्रियकरणका लागि आफु तत्पर रहेको भन्दै यसका लागि समेत काम गर्ने प्रतिवद्धता जनाइन् ।

अवलोकनको क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्रले सामुहिकरुपमा महिलाहरुको लगनशीलताकै कारण मिथिला चित्रकलाको चर्चा हुने गरेको बताइन् ।

त्यस्तै जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकलाको व्यवस्थापन र बजारीकरणका लागि पूर्वाधार निर्माण गर्नु अति नै आवश्यक रहेको औंल्याए ।