काठमाडौं, ७ चैत । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो २६८ ग्राम सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३८ वर्षीय शुभम मेहरा रहेका छन् । नेपाल एयरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले आगमन टनेल गेटबाट पक्राउ गरेको हो ।

मेहराले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस १ किलो २६८ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका उनलाई सुनसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले बताए ।