जनकपुरधाम, ७ चैत । महोत्तरी र सर्लाहीको तराई क्षेत्रको जंगलमा गत एक सातादेखि डढेलो लागेको छ ।

चारकोसे झाडीको रुपमा परिचित महोत्तरीको बर्दिबास र गौशाला नगरपालिका क्षेत्रमा पर्ने सामुदायिक, साझेदारी र राष्ट्रिय वन क्षेत्रमा डढेलो लागेको हो ।

त्यसैगरी सर्लाहीको हरिपुर नगरपालिका क्षेत्रमा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका–६ मा पर्ने घुर्कैली वन, ईश्वरपुर नगरपालिका क्षेत्रको फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा पनि डढेलो लागेको छ ।

पूर्वपश्चिम राजमार्गमा पर्ने महोत्तरीको खयरमारा, टुटेश्वर क्षेत्रको जंगलमा पनि डढेलो देख्न सकिन्छ । डढेलोको धुँवाले राजमार्गमा यात्रा गर्ने यात्रुलाईसमेत समस्या हुने गरेको छ ।

लक्ष्मिनियाँ चोक नजिकै वन कार्यालय महोत्तरीले हालै २० लाख खर्च गरेर इको पार्क निर्माण गरेको छ । पार्क नजिकैको जंगल डढेलोले जलिरहँदासमेत वन कार्यालयका कर्मचारी मुकदर्शक बनेर बस्ने गरेका स्थानीयले बताएका छन् ।

डढेलोले वन क्षेत्र सखाप हुन लाग्दासमेत वन कार्यालय, सागरनाथ वन विकास परियोजनासहितका निकाय मुकदर्शक बनेका छन् ।