रौतहट, ७ चैत । रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

मेयर पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख रुपैयाँ घुस लिएको दाबी गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

अख्तियारको टोलीले १५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई २ लाख रुपैयाँ नगद र २ लाख रुपैयाँको चेक सहित पक्राउ गरेको थियो ।

आयोगले गरेको अनुसन्धानको क्रममा मेयर पटेल र उनका सहयोगी अशोकको मिलेमतोमा घुस लिएको पाइएको भन्दै अख्तियारले दुबैजनामाथि ५ लाख रुपैयाँ बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

स्थानीय तहका प्रमुख घुससहित पक्राउ परेको र उनीविरुद्ध मुद्दा चलेको यो पहिलो पटक भएको प्रवक्ता भण्डारीले बताए ।

मेयर धर्मेन्द्र पटेल जनता समाजवादी पार्टी नेपालका नेता समेत हुन् ।