९३ प्रतिशत नेपाली नागरिकले लगाए कोरोनाविरुद्धको खोप

काठमाडौं, ६ चैत । हालसम्म ९३ प्रतिशत नेपाली नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसंख्यामध्ये १ करोड ८४ लाख ९८ हजार १६० जनालाई कोरोनाविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो ।
यस्तै पूर्ण मात्रा खोप लगाउनेको संख्या भने १ करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसंख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८५ (९१ प्रतिशत) जनाले पहिलो मात्रा खोप लगाइसेका छन् । १८ वर्षमुनि पूर्ण मात्रा खोप लगाउनेको संख्या २३ लाख ११ हजार ९९८ (६७ प्रतिशत) रहेको छ ।
मन्त्रालयका अनुसार चैत ४ गतेसम्ममा सबै उमेर समूहमा कूल ३ करोड ९२ लाख २३ हजार ९४१ मात्रा खोप प्रदान गरिएको छ ।
जसमध्ये १ करोड ८६ लाख ९५ हजार ८२६ पहिलो मात्रा, १ करोड ८६ लाख ९८ हजार ५९५ दोस्रो मात्रा र १८ लाख २९ हजार ५२० मात्रा बुस्टर डोज प्रदान गरिएको हो ।
नेपाल सरकारले भेरोसेल, कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र जोन्सन खोप प्रदान गर्दै आएको छ । केही मात्र अनुदान सहयोग तथा अरु केही खरिद गरेर सरकारले कूल ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त गरेको थियो ।
नेपालमा हाल ३ हजार ९९६ सक्रिय कोरोना संक्रमित रहेका छन् । संक्रमण सुरु भएदेखि नेपालमा गरिएका कूल परीक्षणमा ११ लाख १८ हजार १८० जनालाई कोभिड पोजिटिभ देखिएको र यसमध्ये ९ लाख ६२ हजार १७३ जनाले कोभिडलाई पराजित गरेका छन् ।
संक्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ । नेपाल सरकारले २०७८ चैतसम्ममा १८ वर्षमाथिका सबैलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । ‘शतप्रतिशत खोप’को लक्ष्य पूरा गर्न अब सात प्रतिशत जनसङ्ख्यालाई मात्र खोप लगाउन बाँकी रहेको छ ।
१८ वर्षमुनिको उमेर समूहमा पनि पूर्ण मात्राको खोप पाउन अब ९ प्रतिशत जनसङख्या मात्र बाँकी छ ।
–अनलाइनखबर
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


