काठमाडौं, ६ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभालाई भूमिकासहित चलाउने व्यवस्था गरिनुपर्ने बताएका छन् ।

अध्यक्ष तिमिल्सिनाले प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले विगतमा प्रतिनिधि सभा नहुँदा संसद बाहिरबाटै बजेट ल्याइएको उल्लेख गर्दै राष्ट्रिय सभा भएको बेलामा राष्ट्रिय सभाबाट पनि बजेट पारित गर्नुपर्ने व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिनिधि सभामा उत्पत्ति भएर राष्ट्रिय सभामा आएका विधेयकहरूको साठी दिनभित्र निर्णय गरेर पठाउनुपर्ने व्यवस्था भए पनि प्रतिनिधि सभामा भने सो व्यवस्था नभएकाले २०७५ सालदेखिको विधेयकहरू प्रतिनिधि सभामा थन्किएको अध्यक्ष तिमिल्सिनाको भनाइ छ । यसले गर्दा कानुन निर्माण हुन नसकेको उनले बताए ।

उनले यो प्रतिनिधि सभा विघटन भएर चुनावतिर गएको अवस्थामा राष्ट्रिय सभाले मेहनत साथ पारित गरेर पठाएका विधेयक शून्य अवस्थामा पुग्ने भएकाले आगामी दिनमा यस्ता विषयमा ध्यान दिएर दुवै सदनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

उनले विधेयकको आवश्यकता र महत्वलाई हेरेर छिटोभन्दा छिटो पारित गर्नुपर्नेमा जोड दिए ।