मधेस प्रदेशमा २१ हजार भन्दा बढी म्यादी प्रहरी खटाइने

जनकपुरधाम, ६ चैत । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशमा मात्रै २१ हजार भन्दा बढी म्यादी प्रहरी खटाइने भएको छ ।
सरकारले स्थानीय तह निर्वाचनको सुरक्षार्थ सातवटै प्रदेश र उपत्यका गरी देशभर १ लाख म्यादी प्रहरीको दरबन्दी स्वीकृत गरेकोमा मधेस प्रदेशमा मात्र २१ हजार ६९८ जना म्यादी प्रहरी भर्ना गरिने भएको हो ।
सबैभन्दा बढी मधेस प्रदेशमा म्यादी प्रहरी खटनेछन् भने कर्णाली प्रदेशमा सबैभन्दा कम म्यादी प्रहरी भर्ना गरिनेछ ।
प्रहरी प्रधान कार्यालयले आइतवारदेखि १ लाख म्यादी प्रहरीका लागि भर्ना खुल्ला गरेकोमा धनुषामा ३ हजार ४८६, सप्तरीमा ३ हजार १३९, सर्लाहीमा ३ हजार ८८, महोत्तरीमा २ हजार ७३६, रौतहटमा २ हजार ५८९, बारामा २ हजार ५२८, सिरहामा २ हजार ३३१ र पर्सामा १ हजार ८०१ जना म्यादी भर्ना गरिनेछ ।
मधेस प्रदेशका ८ जिल्लामा कुल संख्याको करिब २२ प्रतिशत म्यादी खटाइँदै छ । त्यस्तै, कर्णाली प्रदेशका १० जिल्लामा ७ हजार ७१३ जना म्यादीको दरबन्दी निर्धारण गरिएको छ ।
निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्रको अन्तिम विवरण निर्क्योल गरेपछि म्यादी प्रहरीको तैनाथी संख्यामा केही तलमाथि पर्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिनेछ ।
भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।
छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


