सर्लाही, ५ चैत । सर्लाहीमा फरार अभियुक्तलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि आक्रमण गरिएको छ ।

जिल्लाको पत्थरकोट प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रामएकबवाल यादवमाथि आक्रमण गरिएको हो ।

लालबन्दी नगरपालिका वडा नम्बर–१२ र १३ को सीमामा पर्ने झोलुङ्गे पुलमा असई यादवमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

बिहीबार राति फरार अभियुक्तलाई समात्न जाने क्रममा उनीमाथि स्थानीय युवाहरुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

घाइते यादवको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । आक्रमण गर्ने समूह फरार रहेको र उनीहरुको खोजी भइरहेको एसपी प्रसाईंले बताए ।