महोत्तरी, ४ चैत । महोत्तरी जिल्लामा म्यादी प्रहरी भर्ना प्रक्रिया अगाडि बढेको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि ६ देखि ११ चैतसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

महोत्तरीका लागि २ हजार ७३६ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । छनोटको मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका कुनै पनि नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् ।

विशेषगरी पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले जनाएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । ४० दिनसम्मको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न वापत ७ हजार २ सय, पोशाक र अन्य खर्च गर्ने गरि ६ हजार, यातायात खर्च वापत एक हजार र बिमा सुविधासमेत उपलब्ध गराइने छ ।

छनोट प्रक्रिया भने १५ चैतबाट प्रारम्भ हुने र नतिजा २२ चैतसम्म प्रकाशन गरिने भर्ना छनोट महाशाखाले जनाएको छ ।