काठमाडौं, ४ चैत । केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

शुक्रबार सुनुवाइ नसकिएपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक नियुक्तिविरुद्धको रिट हेर्दाहेर्दैमा राखेको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वका न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले रिट हेर्दा हेर्दैमा राखेको हो ।

गत वर्ष ३० मंसिरमा बसेको संवैधानिक परिषद्को बैठकले ४५ पदाधिकारी नियुक्तिको सिफारिस गरेको थियो । ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ऐन संशोधन गरेर नियुक्तिका लागि सिफारिस गरेपछि त्यसविरुद्ध छुट्टाछुट्टै ९ वटा रिट दायर भएका थिए ।

रिटमाथि लामो समयदेखि सुनुवाइ हुन सकेको थिएन । यसअघि पनि ३ पटक सम्म रिट हेर्न नभ्याइनेमा परेको थियो ।