सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गर्ने ९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, ४ चैत । सवारी लाइसेन्सका लागि भएको परीक्षाको परिणाम फेरबदल गर्ने ९ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको परिणाम फेरबदल गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ कर्मचारीविरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले शाखा अधिकृत पौडेल, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेमप्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराल पनि भ्रष्टाचारमा संलग्न रहेको भन्दै आरोपपत्र दायर गरेको छ ।
सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्यमा संलग्न भएको पाइएपछि उनीहरुविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
अख्तियारले उनीहरू ’यातायत व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, गण्डकी, पोखरामा मिति २०७५ साल मंसिर र २०७६ साल साउनदेखि मंसिर महिनामा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामध्येबाट विभिन्न मितिमा संचालन भएको विभिन्न वर्गका सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्यमा संलग्न’ रहेको अनुसन्धानका क्रममा खुलेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


