काठमाडौं, ४ चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन इन्डोनेसिया जान लागेका छन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेसियाको संसदको आयोजनामा चैत्र ४ गतेदेखि १० गतेसम्म हुन लागेको अन्तर व्यवस्थापिका संघको १४ औँ सम्मेलनमा भाग लिन शुक्रवार बेलुका इन्डोनेसिया प्रस्थान गर्न लागेका हुन् ।

अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधि मण्डल शुक्रवार बेलुका ९ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्यहरु भैरव सुन्दर श्रेष्ठ, अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्यहरु सुरेन्द्र कुमार कार्की, उमाशंकर अरगरिया रहने छन् ।

त्यस्तै संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाल, राष्ट्रिय सभा अध्यक्षको प्रमुख स्वकिय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय पनि प्रतिनिधि मण्डलमा रहने संसद सचिवालयले जानकारी दिएको छ ।

सो सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले ‘गेटिङ टू जिरो : मोविलाइजिङ पार्लियामेन्ट्स टू एक्ट अन क्लाइमेट चेन्ज’ शीर्षकमा आफ्नो धारणा व्यक्त गर्ने छन् ।

त्यसैगरी सम्मेलनका विशेष सत्रमा कोभिड–१९ महामारीको बेलामा नेपालको संसदले गरेका गतिविधिको सम्बन्धमा पनि संक्षिप्त जानकारी प्रस्तुत गर्नेछन् ।