जनकपुरधाम, ३ चैत । नेपाल इन्जियनियर्स एसोसिएसन मधेस प्रदेशको अध्यक्षमा गैर राजनीतिक समूहका गौरी पण्डित निर्वाचित भएका छन् ।

उनले कांग्रेस निकट सिडेनका उम्मेदवार श्याम किशोर यादवलाई ५२ मतान्तरले पराजित गरेका हुन् । पण्डितले ४०३ मत ल्याए भने यादवले ३५१ मत मात्रै पाए । निर्वाचनमा १ हजार ८ मत खसेको थियो ।

पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एसोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट अध्यक्ष पदका उम्मेदवार श्यामकिशोर यादवले ३५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका राजेश यादवले १७१ मत पाए ।

अध्यक्ष पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कार्तिकेश झाले ३२४ मत ल्याएका छन् भने सचिवमा गठबन्धनकै रामनारायण यादवले ३७५ मत ल्याएका छन् ।

सहसचिवमा कांग्रेस निकट रामइश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा गैर राजनीतिक समूहका तेजनारायण यादवले ४३० मत ल्याएका छन् ।

त्यस्तै, सदस्यहरुमा नेहा कर्णले ४९०, छितेश कुमार यादवले ४२८, अंचली ठाकुरले ३९६, प्रबीणकुमार यादवले ३८३, रबीकुमार साहले ३६७, प्रियांसु कुमार गुप्ताले ३६०, सुमी मिश्राले ३५२, रीताकुमारी यादवले ३५२, दीपककुमार मण्डलले ३४०, बिनिताकुमारी यादवले ३४० मत ल्याएका छन् ।

प्रदेशबाट केन्द्रीय सदस्यमा गठबन्धनका सञ्जय कुमार यादव ४२१ मत ल्याएर निर्वाचित भएका छन् । नवनिर्पाचित पदाधिकारीहरुमध्ये ७ जना गैर राजनीतिक समूहबाट निर्वाचित भएका छन् ।