जनकपुरधाम, ११ असोज । कमला नदीमा बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल धनुषाले उद्धार तथा तत्काल प्रतिक्रिया (क्विक रेस्पोन्स) का लागि विशेष टोली परिचालन गरेको छ ।

कमला नदी र आसपासका तटीय क्षेत्रमा हुन सक्ने सम्भावित विपद्का घटनामा तत्काल उद्धार तथा राहत कार्य सञ्चालन गर्न रबर बोटसहितको सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा राखिएको हो ।

नदीमा पानीको सतह बढ्न सक्ने र आसपासका बस्ती प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले आवश्यक उद्धार सामग्रीसहित जनशक्ति परिचालन गरेको जनाएको छ ।

टोलीले कमला नदी आसपासका संवेदनशील तथा जोखिमयुक्त क्षेत्रमा निगरानी गर्नुका साथै बाढी वा डुबानका कारण सर्वसाधारण समस्यामा परे तत्काल उद्धारमा खटिनेछ ।

सशस्त्र प्रहरीले कमला नदी आसपासका बासिन्दालाई नदीमा पानीको बहाव बढेको अवस्थामा सावधानी अपनाउन तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरेको छ ।