लालबकैया नदीमा हाम फालेका युवकको शव फेला
रौतहट, १० असोज । लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका एक युवकको २७ घण्टापछि शव फेला परेको छ ।
बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादवको शव शनिबार अपराह्न करिब ४ बजे रौतहटको फतुवा क्षेत्रस्थित लालबकैया नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शव घटनास्थलबाट करिब १० देखि १२ किलोमिटर तल नदी किनारमा फेला परेको हो । यादव शुक्रबार दिउँसो करिब १ बजे मौलापुर नगरपालिका–४ स्थित लालबकैया नदीको पुलबाट हाम फालेर बेपत्ता भएका थिए ।
यादव आफ्ना दाइ ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा पछाडि बसेर उपचारका लागि कचोर्वाबाट गरुडा जाँदै थिए । मौलापुर–४ स्थित लालबकैया नदीको पुलमा पुगेपछि मोटरसाइकल रोक्न लगाएर ओर्लिएका यादव अचानक नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए ।
नदीमा हाम फालेपछि बेपत्ता यादवको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका थिए। करिब २७ घण्टापछि उनको शव नदी किनारमा फेला परेको हो ।
शव फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


