गगन थापामाथिको ‘ग्याङ्स्टर’ टिप्पणीप्रति यादवको आपत्ति
जनकपुरधाम, १० असोज । नेपाली कांग्रेसका नेता तथा मधेश प्रदेशसभा सदस्य रामसरोज यादवले पार्टी सभापति गगनकुमार थापामाथि गरिएको ‘ग्याङ्स्टर’ टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
नेपाली कांग्रेसको जनकपुरधाम उपमहानगरपालिका अधिवेशनलाई सम्बोधन गर्दै यादवले पार्टीका जिम्मेवार नेताबाट सार्वजनिक मञ्चमा प्रयोग भइरहेका अमर्यादित अभिव्यक्तिले कार्यकर्तामाझ गलत सन्देश जाने बताएका हुन् ।
उनले नाम नलिई कांग्रेसका एक पूर्वउपसभापतिलाई लक्षित गर्दै पछिल्ला अभिव्यक्तिहरू ‘बौखलाहट’ र ‘नैतिकताविहीन’ भएको टिप्पणी गरे । डिजिटल युगमा नेताहरूले विगतमा दिएका अभिव्यक्ति र गरेका गतिविधि सजिलै लुकाउन नसकिने भन्दै उनले नेताहरूलाई संयमित हुन आग्रह गरे ।
यादवले भने, ‘विनाश आउने बेलामा बुद्धि बिग्रिन्छ, हाम्रा यहाँका नेता त्यही नियतिको सिकार भएका छन् । जसले महामन्त्री थापालाई ग्याङ्स्टर भन्छन्, उनीहरूको शब्द चयन नै दुर्भाग्यपूर्ण छ ।’
उनले विगतमा गगन थापालाई आफ्नो नेता तथा भावी प्रधानमन्त्री भन्दै हिँड्नेहरूले अहिले त्यही व्यक्तिमाथि गालीगलौज गर्नु राजनीतिक इमानदारितामाथि प्रश्न उठाउने विषय भएको बताए ।
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक मतभेद र आलोचना पनि लोकतान्त्रिक तथा मर्यादित ढंगले हुनुपर्ने यादवको भनाइ थियो ।
उनले राजनीतिमा नैतिकता र इमानदारिता महत्वपूर्ण हुने उल्लेख गर्दै सार्वजनिक मञ्चबाट व्यक्तिगत तथा अमर्यादित टिप्पणी नगर्न नेताहरूलाई आग्रह गरे ।
यादवले कांग्रेसभित्र पुरानो पुस्ता र नयाँ पुस्ताबीच नेतृत्व हस्तान्तरणको बहसलाई पनि उठाए । पुरानो पुस्ताका नेताहरूले युवा पुस्ताका लागि ठाउँ खाली गर्नुपर्ने बताउँदै उनले देशका राजनीतिक परिवर्तनमा युवाहरूको महत्वपूर्ण भूमिका रहँदै आएको उल्लेख गरे ।
उनले आगामी दिनको राजनीतिमा युवा पुस्तालाई नेतृत्व र निर्णय प्रक्रियामा पर्याप्त अवसर दिनुपर्ने धारणा राखे ।
पार्टीभित्र नेतृत्व र महाधिवेशनलाई लिएर कांग्रेसमा पछिल्लो समय आन्तरिक बहस तीव्र रहेको छ । गगन थापाले यसअघि पनि पार्टीको विधान कार्यान्वयन र विशेष महाधिवेशनको विषयलाई सार्वजनिक रूपमा उठाउँदै आएका छन् ।


