मधेशमा वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भन्दै ‘हुंकार मधेश’ अभियान घोषणा
जनकपुरधाम, १० असोज । विभिन्न राजनीतिक दल परित्याग गरेका युवाहरूले विचारमा आधारित वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित ‘हुंकार मधेश’ अभियान घोषणा गरेका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा अभियान घोषणा गर्दै आयोजकहरूले मधेशमा नयाँ राजनीतिक संगठनको आधार तयार पार्ने र सक्षम तथा योग्य युवा नेतृत्व विकास गर्ने लक्ष्य रहेको बताएका छन् ।

अभियान घोषणा कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गरेका केशव झाले राजनीतिमा युवा पुस्ताको सहभागिता बढाउन अभियान अघि बढाइएको बताए । उनले राजनीतिलाई ‘डर्टी गेम’ का रूपमा चित्रित गर्ने प्रवृत्तिका कारण सक्षम, शिक्षित र दक्ष व्यक्तिहरू राजनीतिबाट टाढिँदै गएको दाबी गरे ।
झाका अनुसार समाजका जानकार, शिक्षित र आत्मनिर्भर व्यक्तिहरू राजनीतिमा सक्रिय हुँदै नेतृत्व तहमा पुग्न आवश्यक छ । उनले राजनीतिक नेतृत्वप्रति जनविश्वास बढाउन नेताहरूको चरित्र, क्षमता र सामाजिक सम्मान पुनःस्थापित गर्नुपर्नेमा जोड दिए ।

उनले मधेश केन्द्रित विभिन्न राजनीतिक दललाई एकीकृत गरी एउटै राजनीतिक शक्तिका रूपमा अघि बढ्न आफूहरूले प्रस्ताव गरे पनि त्यसमा सहमति हुन नसकेपछि वैकल्पिक राजनीतिक अभियान अघि बढाउनुपरेको बताए ।
झाले राजनीतिप्रति नागरिकमा बढ्दै गएको वितृष्णालाई सम्बोधन गर्न राजनीतिक नेतृत्वको कार्यशैली र आचरणमा परिवर्तन आवश्यक रहेको बताए । युवा पुस्तालाई राजनीतिसँग जोड्दै विद्यमान राजनीतिक प्रवृत्तिमा परिवर्तन ल्याउने अभियानको मुख्य उद्देश्य रहेको उनको भनाइ थियो ।
‘हुंकार मधेश’ अभियानले आगामी दिनमा संगठन विस्तार, युवा नेतृत्व निर्माण तथा मधेशका राजनीतिक, सामाजिक र आर्थिक मुद्दालाई केन्द्रमा राखेर गतिविधि अघि बढाउने जनाएको छ ।

अभियानले आफूलाई कुनै स्थापित राजनीतिक दलको विकल्पका रूपमा मात्र नभई विचार र नेतृत्वमा नयाँ पुस्तालाई जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेको छ ।


