जनकपुरधाम, १० असोज । धनुषाको कमला नगरपालिकामा कृषि क्षेत्रलाई नगरको आर्थिक समृद्धिको मुख्य आधार बनाउँदै सिँचाइ व्यवस्थामा आमूल परिवर्तन गर्ने योजना अघि सारिएको छ ।

कमला नगरपालिका मेयर पदका उम्मेदवार अर्जुन कुमार मण्डलले कृषियोग्य जमिनमा वर्षैभरि सिँचाइको पहुँच पु¥याएर किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने आफ्नो प्राथमिकता रहेको बताएका छन् ।

मण्डलले कमला नगरपालिकाको विकासको आधार कृषि भएकाले सिँचाइलाई पूर्वाधारको विषयका रूपमा मात्र नभई किसानको आय, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

उनका अनुसार पर्याप्त सिँचाइ सुविधा नहुँदा किसान अझै पनि मौसममा निर्भर भएर खेती गर्न बाध्य छन् । यस्तो अवस्थाको अन्त्य गर्दै व्यवस्थित, दिगो र किसानमैत्री सिँचाइ प्रणाली विकास गर्नुपर्ने उनको धारणा छ ।

कमला नगरपालिका आफैँले सार्वजनिक गरेको विवरणअनुसार नगर क्षेत्रको ठूलो हिस्सा कृषियोग्य जमिनले ओगटेको छ । नगरपालिकाको विद्यमान अवस्था सम्बन्धी विवरणमा कृषियोग्य जमिन ८५.१२ प्रतिशत रहेको उल्लेख छ । यस्तो भौगोलिक तथा कृषि सम्भावना भएको क्षेत्रमा सिँचाइको भरपर्दो व्यवस्था हुन सके उत्पादन र किसानको आम्दानी बढाउन सकिने मण्डलको तर्क छ ।

‘किसानले आकाश हेरेर खेती गर्ने अवस्था अब अन्त्य गर्नुपर्छ । खेतमा पानी, किसानको हातमा प्रविधि र उत्पादनको उचित मूल्य सुनिश्चित गर्न सके मात्र कमलाको वास्तविक समृद्धि सम्भव हुन्छ,’ मण्डलले भने ।

उनले नगरभित्र रहेका परम्परागत तथा विद्यमान सिँचाइ संरचनाको अवस्था अध्ययन गरी आवश्यक ठाउँमा नहर विस्तार, मर्मत तथा पुनःनिर्माण गर्ने योजना अघि सारेका छन् । सिँचाइ नहरको पहुँच नपुगेका बस्ती तथा खेतसम्म वैकल्पिक माध्यमबाट पानी पुर्याउने, भूमिगत सिँचाइका लागि डिप ट्युबवेल तथा पम्पिङ प्रणाली विस्तार गर्ने र आवश्यक स्थानमा विद्युतीकरणको व्यवस्था गर्ने उनको प्रस्ताव छ ।

कमला सिँचाइ व्यवस्थापन कार्यालयका अनुसार पश्चिमी नहर प्रणालीमार्फत धनुषाका विभिन्न स्थानीय तहमा गरी करिब १२ हजार ५ सय हेक्टर तथा पूर्वी नहर प्रणालीमार्फत सिरहामा समेत सिँचाइ सुविधा पुर्याउने उद्देश्य राखिएको छ । कार्यालयले भूमिगत सिँचाइअन्तर्गत डिप ट्युबवेल, पम्प हाउस, स्टोरेज ट्याङ्क तथा वितरण प्रणाली निर्माणका कार्यक्रमसमेत सञ्चालन हुँदै आएको जनाएको छ ।

मण्डलले नगरभित्र रहेका यस्ता ठूला सिँचाइ प्रणालीबाट किसानले अधिकतम लाभ लिन सक्ने वातावरण बनाउने आवश्यकता औँल्याएका छन् । नहरमा पानी आए पनि खेतसम्म पानी नपुग्ने, कुलो तथा शाखा नहर जीर्ण हुने र सिँचाइ संरचनाको नियमित मर्मत नहुने समस्यालाई स्थानीय तहको समन्वयमा समाधान गर्ने उनको भनाइ छ ।

उनका अनुसार सिँचाइको विकाससँगै खेती प्रणालीलाई पनि आधुनिक बनाउन आवश्यक छ । एक पटक पानी उपलब्ध गराएर मात्र कृषि समृद्धि सम्भव नहुने भन्दै उनले बीउ, मल, कृषि प्रविधि, कृषि उपकरण, उत्पादनको बजारीकरण र भण्डारणलाई सिँचाइसँगै जोड्ने योजना अघि सारेका छन् ।

‘सिँचाइ भयो भने किसानले एक वर्षमा एउटा मात्र बालीमा निर्भर हुनुपर्दैन । धानपछि गहुँ, मकै, दलहन, तेलहन, तरकारी तथा नगदेबाली उत्पादन गर्न सकिन्छ । त्यसले रोजगारी सिर्जना गर्छ र गाउँको पैसा गाउँमै घुम्छ,’ उनले भने ।

मण्डलले कमला नदी तथा आसपासका जलस्रोतको सम्भावनालाई समेत व्यवस्थित रूपमा उपयोग गर्नुपर्ने बताए । बाढीको समयमा आउने पानी व्यवस्थापन गर्दै सुख्खा समयमा कृषि प्रयोजनका लागि उपयोग गर्न सकिने सम्भावनाको अध्ययन गर्ने उनको भनाइ छ । यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी दीर्घकालीन सिँचाइ आयोजना अघि बढाउने उनले बताए ।

उनको योजना अनुसार सिँचाइका लागि आवश्यक पूर्वाधार निर्माणसँगै किसानको सहभागितालाई समेत प्राथमिकतामा राखिनेछ । सिँचाइ संरचनाको संरक्षण र सञ्चालनमा किसान तथा स्थानीय उपभोक्ताको भूमिका सुनिश्चित गर्दै पारदर्शी व्यवस्थापन प्रणाली विकास गर्ने मण्डलको दाबी छ ।

‘सिँचाइको योजना कार्यालयमा बसेर बनाउने नभई किसानको खेतमा पुगेर बनाउने हो । कुन ठाउँमा पानी पुगेको छैन, कहाँ नहर भत्किएको छ, कहाँ ट्युबवेल आवश्यक छ भन्ने कुरा किसानसँगै बसेर पहिचान गर्छौँ,’ मण्डलले भने ।

उनले सिँचाइ पूर्वाधार निर्माणमा हुने अनियमितता रोक्न सार्वजनिक अनुगमन र सामाजिक परीक्षणलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि जनाएका छन् । योजनाको प्राथमिकता निर्धारणदेखि निर्माण र सञ्चालनसम्म स्थानीय नागरिकको सहभागिता सुनिश्चित गरिने उनको भनाइ छ ।

कमला नगरपालिकामा कृषि क्षेत्रको सम्भावना ठूलो भए पनि किसानले बजार, मल, बीउ, सिँचाइ र उत्पादन लागतजस्ता समस्या भोग्दै आएका छन् । स्थानीय तहले पछिल्ला वर्षहरूमा कृषि, पशुपन्छी तथा मत्स्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको देखिन्छ । नगरपालिकाको बजेट विवरणमा किसान सूचीकरण तथा कृषि, पशुपन्छी र मत्स्यसम्बन्धी तथ्याङ्क अद्यावधिक कार्यक्रमसमेत समेटिएको छ ।

मण्डलले आफू निर्वाचित भए सिँचाइलाई कृषि नीतिको केन्द्रमा राख्दै ‘खेतदेखि बजारसम्म’को अवधारणामा काम गर्ने बताएका छन् । उत्पादन बढाउने मात्र नभई किसानले उत्पादनको उचित मूल्य पाउने व्यवस्था मिलाउनु पनि नगरको जिम्मेवारी भएको उनको भनाइ छ ।

‘हाम्रो लक्ष्य नहर बनाउने मात्र नभई किसानको जीवनमा परिवर्तन ल्याउने हो । खेतमा पानी पुगेपछि उत्पादन बढ्छ, उत्पादन बढेपछि रोजगारी बढ्छ र रोजगारी बढेपछि गाउँको आर्थिक अवस्था बलियो हुन्छ । त्यसैले सिँचाइलाई कमला नगरपालिकाको समृद्धिको पहिलो आधारका रूपमा अघि बढाउँछौँ,’ मण्डलले भने ।

उनले आफ्नो प्रस्तावित विकास दृष्टिकोणलाई ‘समृद्ध कमला, सुखी नगरपालिका’को अवधारणासँग जोड्दै पूर्वाधार विकास, शिक्षा–स्वास्थ्य, कृषि–रोजगारी, स्वच्छ तथा सुरक्षित नगरपालिका र सुशासनलाई समानान्तर रूपमा अघि बढाउने बताएका छन् ।

सिँचाइ क्षेत्रमा हुने लगानीलाई दीर्घकालीन कृषि रूपान्तरणसँग जोड्ने मण्डलको दाबी छ । उनको भनाइमा कमलाका खेतमा बाह्रै महिना उत्पादनको वातावरण सिर्जना गर्न सके नगरपालिकाले कृषि उत्पादनमा आत्मनिर्भर बन्नुका साथै स्थानीय स्तरमै रोजगारीका नयाँ अवसर सिर्जना गर्न सक्छ ।

‘कमलाको समृद्धि कागजमा नभई किसानको खेतमा देखिनुपर्छ । किसानको खेत हरियो भयो भने मात्रै समृद्ध कमला बनेको मान्छौँ,’ मण्डलले भने ।