रौतहटमा स्कर्पियोको ठक्करबाट दुई युवकको मृत्यु

रौतहट, ३ चैत । रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्डअन्तर्गत हर्साहा चोकमा स्कर्पियोको ठक्करबाट दुईजना युवकको मृत्यु भएको छ । ठक्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घाइतेसमेत भएका छन् ।
चन्द्रनिगाहपुरबाट घरतर्फ गइरहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियोले बुधबार राती साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा दुईजना पैदलयात्रुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बृन्दाबन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका ३५ वर्षीय जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षीय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले जानकारी दिए ।
त्यसैगरी, गाडीको ठक्करबाट ड्युटीमा रहेका प्रहरी चौकी हर्साहाका प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अन्सारी घाइते भएका छन् । असई यादवको गरुडास्थित सामुदायिक अस्पताल र जवान अन्सारीको वीरगञ्जमा उपचार भइरहेको डिएसपी भण्डारीले बताए ।
ठक्करबाट गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति मृत्यु भएको भण्डारीले जानकारी दिए ।
ठक्कर दिने गाडी चालक मौलापुरका सञ्जय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्डे पक्राउ परेका छन् । मृतकका आफन्तहरूले दुवै शव हर्साहा चोकमा राखेर दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।
सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरूलाई वैकल्पिक बाटोको प्रयोग गराइरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


