बुटवल, ३ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको कुनै सम्भावना नरहेको बताएका छन् ।

बुटवलमा बिहीबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पहिलो प्राथमिकता गठबन्धन नै रहेकाले एमालेसँग चुनावी तालमेलको कुनै सम्भावना नरहेको बताएका हुन् ।

उनले भने,‘तत्काल एमालेसँग सहमति र समझदारी हुनसक्ने सम्भावना छैन । यद्यपि राजनीतिमा असम्भव भन्ने केही छैन ।’

उनले चुनावमा एमालेसँग माओवादीले तालमेल गर्ने/नगर्ने कुरा कांग्रेसको व्यवहारमाथि पनि भरपर्ने रहेको उल्लेख गरे । प्रचण्डले कांग्रेस केही नेताहरू माओवादीसँग चुनावी तालमेल गर्न इच्छुक नरहे पनि पार्टी सभापति तथा शेरबहादुर देउवासँग यस विषयमा कुरा भइरहेको बताए ।

उनले प्रतिगमनको खतरा टरिनसकेको पनि दाबी गरे ।