जनकपुरधाम, ३ चैत । मधेस प्रदेशमा तत्कालीन नेकपाको नाममा बैंकमा जम्मा भएको लेवी रकमका विषयमा विवाद भएको छ ।

नेकपाको नाममा काटिएको लेवीमा तीन दलबीच विवाद भएको हो । तत्कालीन नेकपाको नाममा काटिएको लेवीमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दावी गरेका हुन् ।

नेकपामा बैंकमा करिब १९ लाख रकम जम्मा भएको बताइन्छ । तर, नेकपा विघटन हुन लाग्दा तत्कालीन नेकपा प्रदेश अध्यक्ष प्रभु साहले हतारहतार पार्टीको खाताबाट एकमुष्ठ १० लाख रकम झिकेका थिए ।

माओवादी केन्द्रका सांसद जगत यादवले बाँकी रहेका रकम माओवादी केन्द्र र नेकपा समाजवादीले पाउनुपर्नेमा एमालेले विवाद गरेको बताए ।

पार्टीबीच विवाद हुँदा करिब ९ लाख रकम अझै नेकपाकै नाममा बैंकमा रहेको उनले जनाए । यसैबीच, जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश सभा सदस्यबाट लिँदै आएको लेवी फागुनदेखि लिन छोडेको छ ।

फागुनको सांसदहरूको तलब खातामा जानुअघि नै जसपाले प्रदेशसभामा पत्र पठाई आफूहरूका सांसदको तलबबाट पार्टीको लागि काट्दै आएको लेवी नकाट्न प्रदेशसभा सचिवलाई जानकारी गराएको छ ।

मधेस प्रदेश सभामा जसपाका ३८ जना सांसद छन् । जसपाले सांसदले पाउने तलबको १५ प्रतिशत रकम लेवी लिदै आएको थियो ।

प्रदेश सांसदको तलब ६१ हजार २० रुपैयाँको १५ प्रतिशत अर्थात् नौ हजार १५३ रुपैयाँ कम गरेर सांसदहरूले तलब पाउँदै आएको थियो ।

त्यसैगरी, संसदीय समितिका सभापतिको तलब ६५ हजार ५३० रहेकोमा १५ प्रतिशत लेवी ९ हजार ८२९, प्रमुख सचेतकको तलब ६७ हजार २५ रहेकोमा १५ प्रतिशत १० हजार ५४ रुपैयाँ लेवी काटिने गरिएको थियो ।

त्यसैगरी, नेपाली कांग्रेसले आफ्ना सांसदहरूबाट लेवी लिइरहेका छैन् भने एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले प्रत्येक सांसदबाट मासिक पाँच हजार लेवीको रूपमा पैसा लिँदै आएको छ ।