जनकपुरधाममा दुई दिन माछा मासु तथा मदिरा विक्रि वितरणमा रोक

जनकपुरधाम, २ चैत । जनकपुरधाम उपमहानगरपालिकामा दुई दिनसम्म माछा मासु तथा मदिरा विक्रि वितरणमा रोक लगाइएको छ ।
मिथिला माध्यमिकी परिक्रमा अन्तर्गत भोली परिक्रमा यात्रीको टोली जनकपुरधाम पुग्नेभएपछि स्थानीय प्रशासनले माछा मासु तथा मदिरा विक्रि वितरणमा रोक लगाएको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषाले बुधबार एक विज्ञप्ति जारी गर्दै चैत ३ र ४ गते जनकपुरधाम क्षेत्रमा माँसमदिरा विक्रिवितरण तथा सेवन निषेधित गरिएको जनाएको छ ।
भोली परिक्रमावासीहरु जनकपुरधाम फर्कने र शुक्रबार अन्तरगृह परिक्रमा गरिने छ ।
होली पर्व मनाउने नाममा जथाभावी रंग दल्ने, लोला हान्ने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो अवरोध गरी सवारीसाधानबाट रकम असुल्नेजस्ता कार्य नगर्न पनि धनुषा प्रशासनले सचेत गरेको छ ।
लागुऔषध, मदिरा तथा अन्य उत्तेजक पदार्थ सेवन गरी सवारीसाधान नचलाउन, हुलहुज्जत नगर्न र चर्को स्वरमा बाजा नबजाउन तथा डिजे सञ्चालन नगर्न समेत आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।
जिल्ला प्रशासनले जारी गरेको सूचनाको उल्लंघन गरेको पाइएमा प्रचलित कानुन अनुसार कारवाही गरिनेसमेत उल्लेख गरिएको छ ।
धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


