जनकपुरधाम, २ चैत । नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशन लम्बिने भएको छ ।

अध्यक्ष, पदाधिकारीसहितमा शीर्षनेतृत्वमा सर्वसहमतिको प्रयास असफल भएपछि बिहिबार अध्यक्षसहित पदायधिकारीमा निर्वाचन हुने भएको छ ।

अध्यक्ष मण्डलले जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएपछि पदाधिकारीमा निर्वाचन हुने बताइएको छ । जिल्ला कमिटी सदस्यहरुको नामावली सार्वजनिक भएसँगै राजकिशोर यादव समुहले भने विरोध गर्दै बहिष्कार गरेका छन् ।

दुई दिनसम्म चल्ने भनिएको नेकपा एमाले धनुषाको सातौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयनमा विवाद बढ्दै गएपछि अझै लम्बिने भएको छ ।

नयाँ नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन समेत काम नलागेपछि अहिले ओली पक्षका वर्तमान अध्यक्ष राजकिशोर यादव समुहले बन्द सत्र बहिष्कार गरेका हुन् ।

अध्यक्ष मण्डलले नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने र जिल्ला कार्य समिति सदस्यको टुंगो लगाउन बन्द सत्रमा सहभागि प्रतिनिधि समक्ष नाम सुनाएपछि अधिकांश प्रतिनिधिले थप्पडी पिटेर पारित गरेको थियो । तर ओली पक्षका राजकिशोर यादवले भने पदाधिकारीसहित सदस्यहरु समेत एकै पटकमा टुंगो लगाउन माग गर्दै अध्यक्ष मण्डलको अगाडी बहिष्कारको नारा लगाउँदै प्रदर्शन गरेका छन् ।

एमालेका केन्द्रिय सचिव रघुवीर महासेठले नसमेटिएका साथीहरुलाई पछि पनि व्यवस्थापन गर्न सकिने भएकाले सर्वसम्मतरुपमै जिल्ला कमिटी चयन गर्न आग्रह गरे ।

उनले भने, ‘अहिले तपाईंहरु समक्ष जिल्ला कमिटीका सदस्यहरुको नामावली घोषणा गरिनेछ, तर तपाईंहरुले जबसम्म थप्पडी बजाएर पारित गर्नु हुन्न तबसम्म त्यो लागु र कार्यान्वयन नहुने भएकाले सुनेर पारित गर्नका लागि आग्रह गर्दछु । पछि निर्वाचनको माध्यमबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितका पदमा चुनाव हुने पनि हुन्छ ।’

त्यसपछि अध्यक्ष मण्डलका एक सदस्यले जिल्ला कमिटीका सदस्यहरुको नामावली वाचन गरेर सुनाएका थिए । अधिकांश प्रतिनिधिहरुले थप्पडी बजाएर पारित गर्न म्यान्डेट दिएपनि राजकिशोर यादव समुहले भने विरोध गर्दै बहिष्कार गरेको भन्दै नारावाजी समेत गरे ।