जनकपुरधाम, १ चैत । धनुषा प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दाका फरार दुईजना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ बस्ने ४२ वर्षीय रामजी पासमान र उनका ३२ वर्षीया श्रीमति बिभा पासमान रहेका छन् ।

मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा जिल्ला अदालत धनुषाको २०७७ माघ २२ गतेको फैसलाले प्रतिवादी रामजीलाई २२ वर्ष कैद र २ लाख ५० हजार जरिवाना तथा बिभालाई १७ वर्ष कैद तथा १ लाख ५० हजार जरिवाना हुने गरी फैसला सुनाइएको थियो ।

अदालतको फैसला पश्चात फरार रहेका दुबैजना प्रतिवादीलाई मंगलबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशानुसार कारागार कार्यालय झुम्का सुनसरी पठाइने उनले बताए ।