इन्जिनियर्स एसोसिएसन मतगणना : मतपत्र छानबिन गर्न अध्यक्षका प्रत्यासी पण्डितको माग

जनकपुरधाम, १ चैत । नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेशको जारी मतगणनामा जालझेल गरिएको आरोप लगाउँदै मतपत्र छानबिन गर्न माग गरिएको छ ।
ननपोलिटिकल समूहबाट अध्यक्ष पदका प्रत्यासी गौरी पण्डितसहित उनको प्यानलले मतपत्र छानबिन गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी दर्ता गरेको हो ।
शनिबार रातिदेखि जारी मतगणनाको क्रममा ७५ बढी मत शंकास्पद रहेको बताउँदै उनीहरुले छानबिन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।
अध्यक्षका प्रत्यासी पण्डितले भने,‘हाम्रो पुरै प्यानल सुरुदेखि नै करिव एकसय मतले अग्रता लिइरहेको अवस्थामा सिडेनका उम्मेदवार श्याम यादव मतदान अधिकृत रामरतन यादवको संलग्नतामा फर्जी मतहरु प्रयोग गरेको देखिएको छ ।’
शंकास्पद मतपत्रको छानबिन गरेर सत्यतथ्य बाहिर आएपछि मात्र मतगणना गर्न पण्डितले माग गरेका छन् ।
३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जनकपुरधामस्थित अधिकृत संगमको सभाहलमा शनिबार रातिदेखि नै जारी रहेको छ ।
कूल खसेको १ हजार ८ मतमध्ये ८०० भन्दा बढी मतगणना सम्पन्न भएपछि मतदान अधिकृत यादवले बाहिरबाट ब्यालेटहरू थपेर सिडेनका उम्मेदवारलाई जिताउन सोमबार मध्यरातमा जालझेल सुरू गरेको पण्डितले आरोप लगाए ।
उनले मतदान अधिकृतको हस्ताक्षर नै नभएका ब्यालेटहरू भेटिएकोले ति ब्यालेटहरू बाहिरबाट थपिएको दाबी गरे । सत्तापक्षको उम्मेदवार श्याम यादवलाई जिताउन हरेक हतकण्डा अपनाईएको उनको आरोप छ ।
बुद्धिजिवीहरूको संस्थामा यसप्रकारका आचारसंहिता विपरीत कार्य गरी इन्जिनियर्स एसोसिएसनको गरिमा र मर्यादा उल्लंघन गरिरहेको पण्डितको आरोप छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


