काठमाडौं, ३० फागुन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहमा पार्टीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

सोमबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई स्थानीय तहमा प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्न निर्देशन दिएका हुन् ।

उनले प्रत्येक केन्द्रीय सदस्यहरूलाई आफ्नो कार्यक्षेत्रमा उपस्थित भएर आगामी स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियान सुरु गर्न लगाइने बताए ।

अध्यक्ष यादवले गाउँ, नगर, वडा लगायतका पार्टीका विभिन्न तहसँग समन्वय गरेर पार्टीलाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए ।

त्यस्तै, पार्टीका केन्द्रीय सदस्य अर्जुन थापाले पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार आगामी स्थानीय निर्वाचनमा सहभागी हुने बताए ।

आगामी स्थानीय निर्वाचनमा केन्द्रीय प्रतिनिधिहरूले जिम्मेवारी बोधका साथ निर्वाचनमा आफ्नो कार्यक्षेत्रमा जित दिलाउने अठोटका साथ जाने कुरामा छलफल भइरहेको उनको भनाइ छ ।