काठमाडौं, ३० फागुन । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध उजुरी दिन आह्वान गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सर्वोच्चका न्यायाधीशको पदमा न्यायपरिषदबाट आएको विराटनगरका उच्च अदालतका मुख्य न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी भए १० दिनभित्र दर्ता गर्न आह्वान गरेको हो ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले संसदीय सुनुवाइको कार्यविधि अनुसार १० दिनको सूचना जारी गर्ने निर्णय गरेको र १० दिनपछि समितिको बैठमा सुनुवाइको काम प्रारम्भ हुने बताए । उनले यो सूचना सर्वसाधारण लगायत सबै सरोकारवालाहरूलाई जारी गरिने बताए ।

उनले मंगलबारबाट उक्त सूचना सरोकारवाला निकाय र आम नागरिकहरूमा जाने पनि जानकारी दिए ।