माधव नेपालसहित १४ जनाविरुद्ध दायर रिटको अन्तिम सुनुवाइका लागि पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, २९ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जनाविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटको अन्तिम सुनुवाइका लागि पेस गर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुँडालको इजलासले आइतबार ओलीले दायर गरेको रिटलाई पूर्ण सुनुवाइमा लैजान आदेश दिएको हो ।
ओलले रिट दायर गरेको ७ महिनापछि पूर्ण सुनुवाइमा लग्ने आदेश भएको हो । मुद्दाको पक्ष र विपक्ष दुवैतर्फबाट लिखित जवाफ पेस भएको र अन्य मुद्दाको अङ्ग पुगेकाले फैसला केन्द्रीत सुनुवाइका लागि पेसी तोक्न आदेश भएको हो ।
ओलीले अन्तरिम आदेश माग गरेपनि पटक पटक सुनुवाइका लागि पेशी तोक्दै मुद्दा धकेलिँदै आएको थियो । अब पूर्ण सुनुवाइपछि १४ सांसदको पद कायम रहने वा पदमुक्त हुने टुंगो लाग्नेछ ।
एमालेले २५ साउनको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार माधवकुमार नेपालसहित १४ सांसदलाई निष्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सचिवालयले सो सूचना टाँस नगरेपछि माधव नेपालले एमालेबाट विभाजनका लागि निर्वाचन आयोगमा निवेदन दिए ।
एमालेले वर्तमान नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरू माधवसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, निरा जैरु, सरला यादव, पुष्पा कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी र कलिला खातुनविरुद्ध मुद्दा दर्ता गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


