युवा पत्रकारिता पुरस्कारबाट चार सञ्चारकर्मीलाई सम्मान

काठमाडौं, २९ फागुन । युवा तथा खेलकुद मन्त्रालयले युवा पत्रकारिता पुरस्कारबाट चार सञ्चारकर्मीलाई सम्मान गरेको छ ।
मन्त्रालयले आइतबार राष्ट्रिय युवा प्रतिभा सम्मान तथा युवा पत्रकारिता पुरस्कार वितरण कार्यक्रमकाबीच युवाको क्षेत्रमा कलम चलाउने चार सञ्चारकर्मीलाई नगद ५० हजार रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।
सम्मानित हुनुहुने सञ्चारकर्मीमा सञ्चारिका समूहकी बसन्ती बास्तोला, खबरकुञ्ज डटकमका सीताराम ओझा, सुदूरआज डटकमका पूर्णबहादुर खड्का र नेपाल प्रेस डटकमका केशवबहादुर भुल रहेका छन् ।
युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले सम्मानित सञ्चारकर्मीलाई पुरस्कार राशिको चेक र सम्मानपत्र प्रदान गरे । कार्यक्रममा मन्त्री गहतराजले सम्मानित व्यक्तित्वहरूको समाज र देशप्रतिको दायित्व बढेको बताए ।
राज्यले गरेको सम्मानलाई बचाइराख्ने चुनौती थपिएको भन्दै उनले आगामी दिनमा थप युवाहरुको पक्षमा उदाहरणीय काम सञ्चारकर्मीबाट हुनेमा विश्वास व्यक्त गरे ।
मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा सम्मान २०७८ बाट १२ जना युवालाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा हिमकुमारी उपाध्याय, धिर्जबहादुर उपरकोटी, मंगलबहादुर विष्ट, सन्तोष बोटे, कुशलचन्द्र अधिकारी र कुसुम केसी रहेका छन् ।
त्यस्तै, सुमित्रा घिमिरे, राजन गौतम, राजकुमारी पौडेल, राजाराम गुरुङ, अशोक शर्मा भट्ट र खिमप्रसाद पन्थी पनि सम्मानित भएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


