जनकपुरधाम, २८ फागुन । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–७ स्थित दलित बस्तीमा सार्वजनिक दलान निर्माण गरिएको छ ।

करिव पाँच सयको संख्यामा रहेका दलित बस्तीमा ‘दलित दलान’ निर्माण गरिएको वडाध्यक्ष जानकीराम साहले जानकारी दिए ।

दलित दलान बनाइएको ठाउँ जनकपुरधामको मुख्य बजारभन्दा केही पश्चिममा पर्दछ । २ कट्ठा १० धुर क्षेत्रफल रहेको जमिनमा दलानसँगै धर्मशाला पनि बनाइएको छ ।

त्यस ठाउँमा पछि एउटा ठूलो हल निर्माण गरिने र आवश्यक्ताअनुसार पछि कोठा थप्दै जाने योजना रहेको वडाध्यक्ष साहले बताए ।
दलित बस्तीमा दलान बनाउने आफ्नो पुरानो सपना रहेको बताउँदै साहले उक्त जमिन गुठीको भएको र जमिनमा भूमाफियाको नजर रहेका कारण दलान निर्माणका लागि सोही जमिन छनोट गरिएको बताए । उक्त जमिनमा दलित दलान बनेपछि जमिनको सदुपयोग भएको उनको भनाई छ ।

दलान निर्माणका लागि वडा कार्यालयले आफ्नै १५ लाख बजेटमा काम गरेको उनले बताए । वडाध्यक्ष साहले दलित उत्थानको निम्ति काम गर्ने क्रममा आज दिनाभद्री टोल, जनकपुरधाम–७ मा वडा कार्यालयको बजेटबाट निर्माण भएको दलित दलान (सामुदायीक भवन) को आज उद्घाटन गर्न पाउँदा आफू हर्षित भएको बताए ।

उक्त भवनले त्यहाँ बसोबास गर्ने सम्पूर्ण समुदायलाई विभिन्न कार्यक्रम गर्न सहज हुने र सोही ठाउँमा वडा स्वास्थ्य चौकी समेत निर्माण भइरहेकोले वडाबासी लगायत सम्पूर्ण नगरवासीलाई स्वास्थ्य उपचारमा सहज र सुलभ हुने उनको दावी छ । वडाध्यक्ष साहले आफू वडाको विकास सहित नगरको विकासका लागि सदैव प्रतिवद्ध रहने बताएका छन् ।

यसअघि सोही स्थानमा नेपाली सेनाले २ लाख ३० हजारको लागतमा शौचालय निर्माण गरी उद्घाटनसमेत गरिसकेको छ । धर्मशाला र शौचालय निर्माणले गर्दा टोलका बासिन्दा निकै खुसी छन् ।

पहिल सो वस्तीलाई मुसहरी टोल भनिन्थ्यो, तर आजबाट यस टोलको नाम ‘दिनाभद्री’ टोल नामाकरण गरिएको वडाध्यक्ष साहले बताए ।उनले भने,‘दिनाभद्री मुसहर समुदायको कुल देवता छन्, उनकै नाममा यस टोलको नाम दिनाभद्री राखेका छौं ।’

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–३ का वडाध्यक्ष दीपेन्द्र साह, वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साह, कार्यपालिका सदस्य सुनिता देवी राउत, शंकर मिश्र, सरोज मल्लिक सहितकाहरुको उपस्थिती रहेको थियो ।