काठमाडौं, २८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेस र एमालेले सबै ठाउँमा जित्छ भन्नु पैसाको धाक भएको आरोप लगाएका छन् ।

शनिवार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै खनालले यस्तो बताएका हुन् ।

उनले कांग्रेसका गठबन्धनसँग मिलेर चुनावमा नजाने पक्षमा रहेका नेताहरूले पैसाको धाक लगाएर पहिलो नम्बरमा आफूलाई निर्वाचनमा हराउने निर्णय गरेको आरोप लगाए ।

खनालले कांग्रेस र एमाले निर्वाचनमा पैसाको बोरा लिएर जाने पार्टी भएको आरोपसमेत लगाए ।

उनले भने, ‘अब चुनावमा विभिन्न खालका शक्तिहरू अहिले आउँदैछन् । एउटा कांग्रेस, कांग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरूको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरूले, त्यो सबै धाक पैसाको हो ।’

उनले आफ्नो पार्टीसँग पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीका रूपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे ।सम्मानित नेता खनालले निर्वाचनका लागि आफ्नो पार्टीले विचार, नीति, प्रतिवद्धताको कुरा अघि सारेर व्यावहारिक रूपले अघि बढ्ने बताए ।

उनले अगाडि भने, ’एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरूले पनि बोरामा नै पैसा लाने हो । यहाँ त एउटै केसबाट १८ अर्ब खाएको कुरा छ ।’