काठमाडौं, २८ फागुन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय राजनीति दुई ध्रुवमा परिणत भएको दाबी गरेका छन् ।

शनिवार काठमाडौंको विश्वशान्ति चिरन मिलन क्याम्पसको रजत जयन्तीको अवसरमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय राजनीति दुई पोलमा ध्रुवीकरण हुनु दुर्भाग्य भएको बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले नेकपा एमालेले एउटा ध्रुवको राजनीति जनताको साथ लिएर जनताको हकहितका लागि गरेको र अर्को ध्रुवको राजनीति गठबन्धनले आफ्नो स्वार्थपूर्तिका लागि गरिरहेको बताए ।

उनले एउटा पोलको लिड नेकपा एमालेले गरेको र अर्को पोलको नेतृत्व सत्ता गठबन्धनले गरेको बताए ।

उनले एमाले नेतृत्व गरेको पोलले निश्चित एजेण्डाहरु, पोलिटिकल्स स्टाब्लिटीको कुरा, आर्थिक विकास र समृद्धिको कुरा, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको कुरा, सामाजिक सद्भावको कुरा देश बनाउने सपनालाई जागृत गर्ने काम गरेको बताए ।

त्यस्तै, गठबन्धनका नेताहरूको राजनीतिमा विकृति, विसंगति देखापरेको उनले बताए । उनले राजनीति क्षेत्रमा देखिएका विकृति, विसंगतिलाई चिर्नका लागि खबरदारी गर्नुपर्ने देखिएको बताए ।