काठमाडौं, २७ फागुन । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले कामलाई तीव्रता दिएको छ । निर्वाचन घोषणा भएको करिब एक महिनाको अवधिमा केही महत्वपूर्ण काम भएको आयोगको दाबी छ ।

निर्वाचन मिति घोषणा भएको एक महिनामा गरिएका काम र आगामी क्रियाकलापबारे चर्चा गर्न आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गर्ने भएको छ ।

आयोगले आगामी ३० वैशाखमा निर्वाचनका सन्दर्भमा राजनीतिक दललाई आयोगबाट हालसम्मको कार्यप्रगति जानकारी गराउने भएको हो । साथै, आयोगले दलहरूबाट रायसुझाव पनि लिने भएको छ ।

‘निर्वाचन घोषणा भएको करिब एक महिना पूरा भयो, यस अवधिमा आयोगबाट भएका क्रियाकलाप जानकारी गराउने, आयोगसँग दलका अपेक्षाका विषयवस्तुबारेमा छलफल तथा अन्तरक्रिया गरी रायसुझाव लिने उद्देश्य हो,’ उनले भने ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुईजना प्रतिनिधि पठाउन अनुरोध गरेको । आगामी स्थानीय तह निर्वाचन प्रयोजनका लागि ८० राजनीतिक दलले आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि ८० दलले दल दर्ताका लागि निवेदन दिएकामा ५७ ले मात्र भाग लिएका थिए । उक्त निर्वाचनमा भाग लिएकामध्ये १८ राजनीतिक दलको त्यसबेला स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो ।