प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा सुरु

पोखरा, २७ फागुन । नेकपा एमालेनिकट पत्रकारहरुको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन आजदेखि पोखरामा सुरु भएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा महाविधेशनको उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।
प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यतामा महाधिवेशन पोखरामा भईरहेको छ । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा पुगेको आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।
महाधिवेशनले संशोधित विधान पास गर्नेछ भने नयाँ नेतृत्व चयन गरेर सकिनेछ । अध्यक्षका लागि ४ जनाको नाम चर्चामा छ । हालका अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने तयारीमा छन् । महाधिवेशनको संयोजक तथा प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डे, उपाध्यक्षद्वय माधव नेपाल र टीका विष्टको पनि दाबी छ ।
चौतारीमा अध्यक्ष सहित ३ उपाध्यक्ष, महासचिव १, उपमहासचिव २ र सचिव १० जना सहित केन्द्रिय समिति १ सय ४९ सदस्यीय रहने प्रस्ताव छ । तर अझै ९९ सदस्यीय बनाउन छलफल चलिरहेको छ । अहिले भने ४ सयको हाराहारीमा केन्द्रीय कमिटी छ ।
नयाँ विधान बन्दसत्रमा प्रस्तुत हुन्छ । देशभरकै जिल्लाहरू, सात भूगोल तथा उपत्यका, एसोसिएट र प्रतिष्ठानका ३ गरी १० वटा प्रदेशमा सहमतिमै नेतृत्व चयन गरिसकिएको छ ।
यसअघि माघ तेश्रो साता हुने भनिएको महाधिवेसन कोभिडको ओमिक्रोन भेरियन्टका कारण एक महिनापछि धकेलिएको हो । महाधिवेसनका लागि मूल व्यवस्थापन समितिअन्तर्गत कास्कीमा १९ वटा उपसमिति गठन भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


