काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सैद्धान्तिक र वैचारिक बहसमा सहभागी हुन सुझाव दिएका छन् ।

महामन्त्री शर्माले निर्वाचन आयोग मतपत्रमा कस्तो रङ राख्ने भन्ने कुरामा स्वतन्त्र रहेको उल्लेख गर्दै रङको विषयलाई लिएर पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले खुद्रा वहस गर्न नमिल्ने तर्क गरे ।

बिहीबार महामन्त्री शर्माले तथ्य र तर्कमा आधारित विषयमा मात्र राजनीतिक दलहरुले निर्वाचन आयोगले गरेको निर्णयमाथि प्रश्न उठाउन सक्ने भएकाले तार्किक कुरामा मात्रै प्रश्न गरी पदीय जिम्मेवारीको मर्यादा राख्न अध्यक्ष ओलीलाई सुझाव दिएका हुन् ।

अध्यक्ष ओलीले केही दिनअघि सार्वजनिक समारोहमा मतपत्रमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णय नमान्ने अभिव्यक्ति दिएको विषयमाथि टिप्पणी गर्दै शर्माले रङबाट नतर्सिन पनि आग्रह गरे । उनले अध्यक्ष ओलीलाई मतपत्रको रङभन्दा पनि आफ्नो ढंग सच्याउन सुझाव दिए ।