पर्सा, २६ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन् ।

नेपाली कांग्रेस पर्साले बुधबार वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै देउवाले गठबन्धनमा चुनाव लड्ने विषयमा दलहरुसँग छलफल चलिरहेको बताए ।

उनले गठबन्धनसँग मिलेर निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र संघ गरी तीनै तहमा विजय हासिल गर्ने सम्भावना प्रबल भएकाले जिकिर गरे । विसं २०७४ को चुनावमा कांग्रेस कमजोर भएर नभइ सबै कम्युनिष्टहरू एक भएकाले कांग्रेसको हार भएको उनको भनाइ छ ।

उनले एमसीसी सम्झौताले नेपालको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा व्यक्त गरे । उनले एमसीसीबाट प्राप्त रकमलाई सदुपयोग गरे अमेरिका मात्र नभई विश्वका अन्य समृद्ध राष्ट्रले नेपालमा लगानी गर्ने र मुलुकमा व्याप्त रहेको बेरोजगारी तथा पछौटेपन समाप्त हुने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले चीन र भारतजस्ता विशाल राष्ट्रको बीचमा रहेको नेपालले मुलुकको विकासका लागि दुवै देशको सहयोग लिने र दुवै राष्ट्रसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्न आवश्यक रहेको बताए ।