लोसपाबाट निर्वाचित कलैया उपमहानगरपालिकाका एक वडाध्यक्ष एमालेमा प्रवेश

बारा, २५ फागुन । मधेस प्रदेशको बारा जिल्लास्थित कलैया उपमहानगरपालिकाका एक वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट निर्वाचित कलैया उपमहानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष डाक्टर अख्तर आलम अन्सारी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
बुधबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीले वडाध्यक्ष अन्सारीलाई पार्टीमा स्वागत गरेका छन् । आफ्नो वडालाई नेपालकै नमुना वडा बनाउने सपना पूरा गर्न पार्टी परिवर्तन गर्नुपरेको वडाध्यक्ष डाक्टर अन्सारीको भनाई छ ।
उनले मधेस आन्दोलनका माग र शहीदको सपना पूरा गर्न नसकेको, मधेसका मुद्धाहरु ओझेलमा पार्ने गतिविधिमा संलग्न भएकोले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको बताए ।
अन्सारीले भने, ‘आफ्नो वडालाई नेपालकै नमुना बनाउने सोच छ, ठूलो पार्टीबाट मात्रै यो भिजन पूरा हुने देखें, त्यसैले नेकपा एमाले रोजेको हुँ । ’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा बाराको आदर्श कोतवालमा फागुन २८ गते हुने बृहत पार्टी प्रवेश कार्यक्रममा आफ्नो वडाबाट थप एक हजार नेता कार्यकर्तालाई प्रवेश गराउने उनको दाबी छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


