काठमाडौं, २५ फागुन । फ्रान्सेली प्रतिनिधिसभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटनको नेतृत्वमा नेपाल भ्रमणमा रहेको टोलीले बुधबार विहान प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटघाट गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । भेटमा नेपाल–फ्रान्स द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको सचिवालयले बताएको छ ।

फ्रान्सेली प्रतिनिधि सभाको फ्रान्स–नेपाल मैत्री समूहका अध्यक्ष रियोटनको नेतृत्वमा एक टोली मंगलबार काठमाडौं आइपुगेको थियो ।

उनको साथ मैत्री समूहका उपाध्यक्ष निकोलस फोरिसियर र ग्राजिएला मेल्चियर पनि रहेका छन् । नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष माधवकुमार नेपालको निमन्त्रणामा उनीहरू नेपाल आएका हुन् ।