जनकपुरधाम, २४ फागुन । जिल्ला युवा सञ्जाल धनुषाको आयोजना र जानकी महिला सञ्जालको सहकार्यमा ११२ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाइएको छ ।

नारी दिवसको अवसर पारेर जानकी मन्दिरको प्राङ्गणमा दिप प्रज्वलन गरी शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।

सबैजना साथ भएर नारीप्रतिको पूर्वाग्रह तोड्ने र समानताको आवाज बलियो बनाउने आग्रहका साथ Gender equality today for a sustainable tomorrow भन्ने नाराका साथ सन् २०२२ को नारी दिवस मनाइ कार्यक्रम सम्पन्न भएको छ ।

सञ्जालका कोषाध्यक्ष खुश्बु कुमारी साहको संयोजनमा आयोजित कार्यक्रममा वक्ताहरुले पुरुषहरूबिचको टक्कर वा द्वन्द्व नभएर अगुवाई गरिरहेको सामाजिक संरचनाले तोकिदिएको महिला पुरुषबिचको विरोधाभाष परिधि, सीमा र समानतामा ठुलो दूरी रहेको र यसलाई चिर्न नवपुस्ताले महत्त्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने धारणा राखेका थिए ।

सञ्जालका महासचिव कुलदिप साहले एक अर्काका विविधता सहितका गुणहरूको सम्मानसाथ आत्मसात गरी समानतालाई सहकार्यमा रूपान्तरण गरी नारीहरू आमा रूपका जीवित देवी रहेको र यो प्रकृति तथा सामाजचक्रको एउटा महत्त्वपूर्ण अङ्ग रहेकोले महिला पुरुषले सहकार्य गरेर अगाडी बढ्दा भेदभाव कम हुने बताए ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका मनमाया राणा मगर, महिला रक्षक सञ्जालका जमुना भुजेल, शुभद्रा आले, निल हिरा समाजका प्रदिप यादव, उन्नत नेपालका नागेन्द्र साह, सञ्चालका अध्यक्ष धिरज साह ,महासचिव कुलदिप साह , इन्द्रभुषन यादव, बुधेश्वर रजक, चन्द्रदेव साह, गुडी नायक, ज्योती मण्डल, जानकी महिला सञ्जाल धनुषाका देव महतो लगायतकाहरुको सहभागीता रहेको थियो ।