जनकपुरधाम, २४ फागुन । ‘संसारका उत्पीडित तथा मुक्तिकामी महिलाहरु एक होऔं, स्वतन्त्रता, समानता र स्वाधीनताका लागि सशक्त संघर्ष गरौं’ भन्ने मूल नाराका साथ आज ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस जनकपुरधाममा पनि भव्यताका साथ मनाइएको छ ।

दिवसको अवसरमा मंगलबार जनकपुरधामको राम चोकबाट निस्केको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेकपा क्रान्तिकारी माओवादीका धनुषा सेक्रेट्ररी शीतल कर्णले एमसीसी सम्झौताले आउने दिनमा वैदेशिक हस्तक्षेप नांगोरुपमै हुने भएकाले एमसीसी खारेजी नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताए ।

उनले अर्बौ रुपैयाँको बजेट खर्चिन नसक्ने सरकारले स्वार्थ पुरा गर्नका लागि जनतालाई समेत विदेशीको गुलाम बनाउन चाहेको भन्दै कडा विरोध जनाए । उनले जनयूद्धताका देखि अहिलेसम्म हरेक आन्दोलनमा महिलाको अग्रनि स्थान रहँदै आएकाले आधा आकाश र धर्तीका मालिक रहेको स्मरण गर्दै महिला र पुरुषमा समानता आजको आवश्यकता रहेको औल्याएँ ।

त्यस्तै विप्लब नेतृत्वको नेकपाका महोत्तरी जिल्ला इन्चार्ज देवनारायण साहले महिला मुक्तिका लागि फेरी पनि गोलबन्द हुनुपर्ने धारणा राखे ।

अखिल महिला संघ धनुषाकी अध्यक्ष ज्योती लामाले महिलाले पनि पुरुष सरह अधिकार र कर्तव्यबोध हुनु पर्ने बताइन् । यसका लागि श्रमिक नारीहरु एकजुट हुनुपर्नेमा उनको जोड थियो ।

कोणसभामा बैज्ञानिक समाजवादी महिला संगठन धनुषाकी अध्यक्ष हिरादेवी दास, वैज्ञानिक समाजवादीका केन्द्रिय सदस्य दिपनारायण मण्डल, ऋषि कटेल नेतृत्वको नेकपाका केन्द्रिय सदस्य बिपती मण्डललगायतकाले बोलका थिए ।