काठमाडौं, २४ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभूत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताएका छन् ।

मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्वद्ध सबै पक्ष प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।

संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामूलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशीय हक, पैतृक सम्पत्तिमा हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक प्रदान गरिएको बताए ।

प्रधानमन्त्री देउवाले महिला सशक्तीकरणको विषय सबैको साझा विषय भएकाले तिनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मुल गर्न शून्य सहनशीलताको नीति अपनाई सरकारले काम गरिरहेको बताए ।