जनकपुरधाम, २४ फागुन । आज ८ मार्च अर्थात् ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस । ‘सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रमसहित यो दिवस मनाइएको छ ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर नारी दिवस मनाउन थालिएको हो ।

सोही क्रममा तराई मधेश लोकतान्त्रिक पार्टी महिला संघले पनि ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ मनाएको छ ।

मंगलबार जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा पार्टीका केन्द्रीय सदस्य बिन्दु देवी ठाकुरको अध्यक्षतामा महिला दिवस भव्यताका साथ मनाइएको हो ।

कार्यक्रममा सहभागीहरुले नेपालमा संविधानले लैङ्गिक आधारमा कुनै पनि महिलामा कुनै किसिमका असमान ब्यवहार हुन नदिने प्रष्ट उल्लेख गरेको बताउँदै जनसंख्याको हिसाबले आधा धर्ती ओगट्ने महिलाको अवस्था अहिलेपनि नाजुक रहेको जिकिर गरेका थिए ।

लैङ्गिक विभेदका आधारमा रहेका यस्ता किसिमका अनगिन्ती असमानता हटाउन समाजमा लैङ्गिक न्याय र समानता कायम गर्न नेपालले अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरु जनाएपनि व्यवहारमा भने महिलाविरुद्धको शोषण, असमानता र विभेद अझै अन्त्य हुन नसकेकोप्रति सहभागीहरुले दुःख व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिका उपाध्यक्ष ज्योति झा, प्रदेश सदस्य बरुणा कर्णलगायत तमलोपाकी नेतृहरु विजया लाल, बिमला साह, मंजु झा, रिंकु राउत ,सनेचरि देवी, शिवोदेवी, चन्द्रकला देवी, राधिका चौधरी, निर्मला झा, सीता देवी राम, सुनीता वर्मा, अञ्जना दत्त लगायत सयौँ महिलाको उपस्थिती रहेको थियो ।

महिला समानता र जागरूकताका लागि आज विश्वभर यो दिवस मनाइन्छ ।