प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई हंसपुर नगरपालिकामै कामकाज गर्न सर्वोच्चको अन्तरिम आदेश

जनकपुरधाम, २३ फागुन । सर्वोच्च अदालतले धनुषाको हंसपुर नगरपालिकाबाट केही दिन अघि सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीलाई सोही नगरपालिकामा कामकाज गर्न अन्तरिम आदेश दिएको छ ।
प्रशासकीय अधिकृत अधिकारीले दर्ता गराएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि प्रशासकीय अधिकृत अधिकारीले मन्त्रालय, नगरपालिका र प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्चका न्यायाधीश बम कुमार श्रेष्ठको एकल इजलासले कर्मचारी समायोजन ऐन २०७५ को दफा ९(९) बमोजिम प्रदेश वा स्थानीय तहले माग गरेको अवस्था नरहेको र निवेदक हंसपुर नगरपालिकाको प्रशासकीय अधिकृत भई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(३) र (४) ले नेपाल सरकारले खटाएको अवस्था समेत भएकोबाट निवेदकलाई हाल कार्यरत रही आएको हंसपुर नगरपालिकामै प्रमुख प्रशासकीय अधिकृतको पदभारमा रही कामकाज गर्न दिन विपक्षीहरुको नाममा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९(२) बमोजिम अन्तरिम आदेश जारी गरेको हो ।
यसअघि छिमेकी जिल्ला महोत्तरीको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृतलाई डेढ महिनामै सरुवा गरेपछि जनप्रतिनिहरूले विरोध जनाएका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


