जनकपुरधाम, २३ फागुन । धनुषा प्रहरीले २ लाख भन्दा बढि मूल्य बराबरको अवैध भन्सार चोरी निकासीका सामानसहित एक युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट गस्तीमा खटेको प्रहरी टोलीले सोमबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ बाट सो सामानसहित युवकलाई पक्राउ गरेको हो ।

धनुषाको धनौजी गाउँपालिका–४ बस्ने ३० वर्षीय रविन्द्र मण्डलले भारतबाट बिआर ४४ एल ५९८७ नम्बरको मोटरसाइकलमा प्लाष्टिकको बोराभित्र विभिन्न ब्राण्डका १५७ थान साडीहरू भन्सार चोरी पैठारी गरी ल्याउँदै गरेको अबस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

पक्राउ परेका सामानसहित मण्डललाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको प्रहरीले जनाएको छ ।