काठमाडौं, २३ फागुन । जब सेन्टरको नाममा ठगी गर्ने गिरोहका ९ जनालाई महानगरीय प्रहरी अपराध महाशशाखाको टोलीले काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा छत्रदेव–६ अर्घाखाँचीका २६ वर्षीय अमर पाण्डे, ३२ वर्षीय तिलकराम पाण्डे, दूधपोखरी–२ लमजुङका २२ वर्षीय आनन्द मरहठ्ठा, सिरहा–१९ का २३ वर्षीय विवेक यादव, ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ का २८ वर्षीय अश्विन राई र सिन्धुलीको फिक्कल–२ का २२ वर्षीय घनश्याम पहाडी, चन्द्रपुर नगरपालिका–४ रौतहटका २५ वर्षीया सृजना लामिछाने, विराटनगर–४ की ४० वर्षीया ज्ञानु न्यौपाने र रौतहट जिल्ला मौलापुर–५ का २२ वर्षीय रामबचनकुमार यादव रहेका छन् ।

जागिर लगाइदिने बहानामा प्रतिव्यक्ति ६ हजार रुपैयाँसम्म ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

उनीहरूले जागिर मिल्छ भन्दै फारम शुल्कबापत ५ सय रुपैयाँसम्म लिने र जब वारेन्टी शुल्कको नाममा ६ हजार रुपैयाँम्म लिने गरेको पाइएको प्रहरीले जनाएको छ ।

साथै, जागिरको लागि फारम भरेकालाई सर्त बमोजिमको काममा नलगाउने तथा एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पु¥याएर पुनः शुल्क असुल्ने काम उनीहरूले गरेका प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।