जनकपुरधाम, २३ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको बताएका छन् ।

जनकपुरधाम–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उनले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताए ।

मधेस प्रदेशका वैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै मुख्यमन्त्री पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताए । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुरधाम आएका थिए ।

उनी आज सोमबार पोखरा फर्किँदैछन् ।