काठमाडौं, २२ फागुन । जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।

आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराएका हुन् ।

एक महिलाले जबर्जस्ती करणीको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बानियाँविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै उनी बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमा रहेका बानियाँ मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखिएको छ ।

सांसद बानियाँले नेपालगञ्जको होटलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौँबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।