काठमाडौं, २२ फागुन । विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको एक कार्यक्रममा उनी एमाले प्रवेश गरेका हुन् ।
वैद्य काठमाडौं क्षेत्र नम्बर ४ मा प्रभावशाली नेता मानिन्छन् ।

एमाले प्रवेश गर्दै वैद्यले आफूले काम गर्ने नेतृत्व खोजेको र त्यस्तो नेतृत्व तत्कालका लागि नेपालमा केपी ओलीबाट मात्र सम्भव देखेर एमालेमा समाहित हुने निर्णय गरेको बताए ।

यसअघिको स्थानीय तह निर्वाचनमा काठमाडौंमा साझा विवेकशीलबाट मेयरकी उम्मेदवार बनेकी रन्जु दर्शनाको मुख्य चुनावी कमाण्डर वैद्य थिए । रन्जु दर्शनाले पनि साझा विवेकशील छोडिसकेकी छिन् ।

साझा विवेकशीलमा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेको समूहबीच मतभेद भएपछि धेरैजनाले पार्टी परित्यागको घोषणा गरिसकेका छन् । यसअघि धनगढीका गोपाल हमालले पनि मेयरमा उम्मेदवारी दिन साझा विवेकशील परित्याग गरेका थिए ।