पर्सा, २२ फागुन । सशस्त्र प्रहरीले पर्साबाट ५ किलो अवैध लागूऔषध गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पश्चिम चम्पारण सोनखर पञ्चायत १३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल र २५ वर्षीय प्रेम पटेल रहेको प्रहरीले जनाएको छ ।

शनिबार राति साढे ८ बजेको समयमा पर्साको ठोरी गाउँपालिका–३ सिकारीबासस्थित नेपाल भारत सीमा क्षेत्रबाट दुबैजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बी.आर. ०६ यू.५८७३ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको अवस्थामा पाँच किलो अवैध लागूऔषध गाँजासहित दुबैजनालाई पक्राउ गरेको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख (डिआइजी) गणेश ठाडा मगरले जानकारी दिए ।

प्रहरीका अनुसार दुबैजनाको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ पनि बरामद भएको छ ।

पक्राउ परेका दुबैजनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय ठोरीको जिम्मा लगाइएको छ ।